कार्यकारी निर्देशकको सन्देश

नेपाल सरकारको आर्थिक वर्ष २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा "सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गरी जुनसुकै बैंकबाट रकम निकाल्न सकिने व्यवस्था गरिनेछ। यो परिचयपत्रसम्वन्धी व्यवस्थाको कार्यान्वयन, व्यक्तिगत घटना दर्ताको केन्द्रीय अभिलेखन र सामाजिक सुरक्षाको कार्यक्रमको कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ" भन्ने उल्लेख भएको थियो। यसैका आधारमा नेपाल सरकारको मिति २०६७।३।१६ को निर्णयानुसार गृह मन्त्रालय अन्तर्गत विभागीयस्तरको केन्द्रीय निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भै मिति २०६७।४।१ गतेदेखि सञ्चालनमा रहेको छ ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासंग मेल नखाने (Unique) परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने केन्द्रको मुख्य उद्देश्य रहेको छ। यस उद्देश्यअनुरूप कानूनी तथा प्राविधिक पूर्वाधार तयार गर्ने कार्यका साथै राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अनुशिक्षणलगायतका कार्यहरू भइरहेका छन्।
विश्वका अधिकांश मुलुकले यो प्रविधि अवलम्बन गरी मुलुकको समग्र क्षेत्रको विकास गरेका छन्। नागरिकलाई छिटो छरितो र कम लागतमा गुणस्तरीय सेवा सुविधा लिन-दिन, सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्ने कार्यमा समेत महत्त्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेको छ । यसको सफल कार्यान्वयनपछि हामी पनि विश्व समुदाय जस्तै विज्ञान तथा प्रविधिको प्रयोगबाट उल्लेख्य उपलब्धि हासिल गर्ने अवस्थामा पुग्नेछौं । यसमा हालसम्म उपलब्ध साधन-स्रोतको प्रयोग गरी केन्द्रले यहाँसम्मको यात्रा तय गरेको हुँदा आगामी दिनमा यस पुनीत कार्यमा सबैको थप सकारात्मक सहयोगको अपेक्षा राख्दछु ।
धन्यवाद
नरेन्द्र दाहाल
कार्यकारी निर्देशक
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र
सिंहदरवार, काठमाडौं ।